सलह कीरा नियन्त्रणका लागि सबै उपाय अवलम्बन गरिने

लुम्बिनी पत्र
बुटवल । प्रदेश ५ को कृषि विकास निर्देशनालयले अनुसन्धानका क्रममा रुपन्देहीमा भेटिएको कीरा सलह नै भएको पाइएको छ । रुपन्देहीको भैरहवा र बुटवल क्षेत्रमा शनिबार बिहान एक–दुईवटा मात्रै सलह जस्तै कीरा देखिएकोमा दिउँसो ठूलो संख्यामा कीराहरु उड्दै गरेको अवस्थामा देखिएको थियो ।
भारतसँग सीमा जोडिएको जिल्लाको दक्षिणी क्षेत्र हुँदै सलह रुपन्देहीका विभिन्न क्षेत्रमा प्रवेश गरेको निर्देशनालयका प्रमुख यामनारायण देवकोटाले जानकारी दिए । कृषि विकास निर्देशनालय र नेपाल कृषि अनुसन्धान (नार्क) ले सलह कीरा प्रदेश ५ को रुपन्देहीमा आएको जनाएको छ । “सलह जस्तै कीरा देखिएपछि प्राविधिक टोलीले अनुसन्धान गर्ने क्रममा सलह नै भएको पाइएको छ, अव कसरी अघि बढ्ने भन्ने बारेमा छलफल गरी निर्णयमा पुग्ने छौं ”–देवकोटाले भने ।
उनले रुपन्देहीको आकाशमा देखिएको सलह निरन्तर भइरहेको वर्षाका कारण ठूलो झुण्ड टुक्रिएर आएको हुन सक्ने बताए । बुटवलस्थित नेपाली सेनाको गुल्ममा शनिबार बिहान सलह जस्तै देखिने कीरा ठूलो संख्यामा देखिएपछि अनुसनधान गरिएको हो । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले सेनाको ब्यारेकमा ठूलो संख्यामा कीरा देखिएको बताए । “त्यहाँ ठूलो आकारको फट्यांग्रा ठूलो संख्यामा आएपछि सेनाले नियन्त्रणमा लिएको थियो”–उनले भने ।
कृषि विज्ञहरुले रुपन्देहीमा देखिएको कीरा सलह नै भएको दावी गर्दै यसको नियन्त्रणका लागि तयारी थालेका छन् । पक्लिहवा कृषि क्याम्पस भैरहवाका उपप्राध्यापक तथा कीटविज्ञ दिपकराज खनालले स्थानीयले जानकारी गराएपछि आफू अनुसन्धानमा गएको र अनुसन्धानका क्रममा सलह कीरा नै रहेको पाइएको बताए । प्रदेश ५ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयलको बैठक शनिबार साँझ बसेको छ । रुपन्देहीमा देखिएको किरा सलह नै भएको पाइएपछि अव कसरी नियन्त्रणका लागि अघि बढ्ने भनेर बैठक बसिएको मन्त्री आरती पौडेलले जानकारी दिइन् । “अध्ययनका क्रममा रुपन्देहीमा देखिएको किरा सलह नै भएको पाइयो, अव यसको नियन्त्रणका लागि सबै उपाय अवलम्बन गर्नेछौं”–उनले भनिन्।