सरकारलाई जनताले कर तिर्दिन पनि भन्न सक्छन्: देउवा

लुम्बिनी पत्र । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले महामारीमा रोगले छटपटाएका जनताको उपचार नगर्ने सरकारलाई जनताले कर तिर्दिन पनि भन्न सक्ने बताउनु भएको छ।
पूर्व प्रधानमन्त्री देउवाले भन्नुभएको छ : महामारीमा जनताको निःशुल्क उपचार गर्नु राज्यको आधारभूत दायित्व हो । यस्तै महामारीमा राज्यको भरोसा हुन्छ भनेरै जनताले सरकारलाई कर तिर्ने हो । तर महामारीमा रोगले छटपटाएका जनताको उपचार नगर्ने सरकारलाई जनताले कर तिर्दिन पनि भन्न सक्छन्  ।
कांग्रेस सभापति देउवाले सरकारलाई तत्काल सशुल्क उपचार गर्ने निर्णय खारेज गरि सर्वोच्च अदालतको पटक पटकको आदेशलाई समेत पालना गर्दै हरेक नागरिकको पीसीआर परिक्षण र कोरोनाको उपचार निशुल्क गराउन जोडदार माग समेत गर्नु भएको छ । संविधानको धारा ३५ ले आधारभूत स्वास्थ्य सेवा नागरिकको मौलिक हकको रुपमा सुनिश्चित गरेको र अहिले विश्वभर फैलिएको कोरोना भाइरसको महामारीमा हरेक जनतालाई कुनै भेदभाव नगरी स्वास्थ्य सेवा दिनु राज्यको अनिवार्य दायित्व रहेको उँहाले प्रष्ट पार्नु भएको छ ।
सरकारकै हेलचक्राईले कोरोना भाइरस समुदायस्तरमा फैलिएर संक्रमति भएका सर्वसाधरणको निःशुल्क उपचार गर्न सक्दिन भन्नु सरकारको गैरजिम्मेवार निर्णय मात्रै होईन, संविधानको ठाडो उल्लंघन पनि हो : देउवाले भन्नु भयो ।