बेलरानीका ब्यथा – लेखक राजेन्द्र धिताल

लिखराम थारु त्यतिबेला १९ बर्षका थिए,भर्खरकी नव यौवना जीवनसाथी थिइन बेलरानी ,सानी दुई बर्षकी फुल जस्ती छोरी थिइन अनु।गरिवी भए पनि घरमा स्वर्गीय आनन्द थियो ।तर अचानक त्यो खुसी अनन्तमा विलीन भएर गयो।
२०५९ साल जेठ महिनामा लिखराम नेपाली सेनामा भर्ना हुन भनी नेपालगन्ज स्थित राझा गए।त्यस पछि उनी घरमा कहिल्यै फर्किएनन।सेनाको नियन्त्रण पछि सम्पर्क विहीन भएका उनको अबस्था अहिले पनि अज्ञात छ।
त्यसपछि उजाड भएको बेलरानी जीवन अहिले पनि उदास छ। पति फर्कन्छ्न कि भन्ने आशा एकातिर छ भने अब के फर्कलान भन्ने निराशा अर्कोतिर ।यही आशा निराशाका बीचमा जीवनका १८ वसन्त बितिसकेका छ्न।रुदा रुदा आँसु रित्तिसके।अबोध बालिका अनु अहिले स्नातक तहमा पढ्ने भैसकिन।अनुको अन्तर
मनमा बाबाको अज्ञात स्नेहको सर्वथा रिक्तताको अनुभूति हुन्छ।
बस् ,तस्वीर हेर्नु र उदास भएर बस्नु लगभग दिनचर्या भएको छ बेलरानीको।आर्थिक अवस्था उस्तै कमजोर छ,हेरिदिने कोही छैन।अभिभावक भएको राज्य जिम्मेवार छैन।बेलरानीको राज्यसँग आग्रह छ बेपत्ता नागरिकको सवाललाई नबिर्स,उनीहरूको अवस्था सार्वजनिक गर।
यसरी अन्याय परेकी बेलरानी एउटा प्रतिनिधि पात्र हुन।देशभरी बेपत्ता नागरिकको तथ्यांक ठूलो छ।आज अन्तर्राष्ट्रिय बेपत्ता दिवस हो।यो दिनमा बेपत्ता नागरिकका आफन्तजनको हृदय फेरि पीडाले बल्झिने गर्छ।राज्यले त्यो पीडाको यथाशीघ्र सम्बोधन गरेर मानवीय चरित्र देखाउनै पर्छ। (लेखक नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष हुन् ।)