बाँकेमा नदीजन्य पदार्थ व्यापक चोरी निकासी, बेथितिको चाडै अन्त्य गरिने प्रजिअ कुरुम्वाङ्गको प्रतिबद्धता

लुम्बिनी पत्र । बाँके जिल्लामा नदीजन्य पदार्थ चोरी निकासी व्यापक भइरहेको जनगुनासोपछि प्रमुख जिल्ला अधिकारी रामबहादुर  कुरुम्वाङ्गआफैंले स्थलगत अध्ययन गरेका छन् । उनकै सक्रियतामा आइतबार टिपर र ट्याक्टर गरी एक दर्जन गाडीलाई नियन्त्रणमा लिइएको छ । नौ जनाविरुद्ध मुद्दा चलाइएको छ ।
‘राजस्व नतिर्ने, ढुंगा चोरी गर्नेलाई कारबाहीको दायरामा ल्याउँछौं । सम्बन्धित गाउँपालिकालाई सरकारी राजस्व तिर्नेलाई मात्रै काम गर्न दिन्छौं,’ उनले भने । लकडाउनका कारण लामो समयदेखि विकासका काम रोकिएका कारण पालिकाहरूलाई केही दिनका लागि नदीजन्य पदार्थ उत्खनन गर्न दिन आग्रह गरिएको छ । तोकिएको परिमाणभन्दा बढी झिक्न नदिन पालिकाहरूले अनुगमन गर्ने छन् । ‘कोभिड–१९ का कारण विकास निर्माणका काम रोकिएकाले पालिकाहरूलाई नदीजन्य पदार्थ नझिक्न आग्रह गरेका छौं,’ उनले भने ।
घरेलु तथा साना उद्योग कार्यालयका अनुसार बाँकेमा १६ वटा क्रसर उद्योग र ५ वटा बालुवा प्रशोधन उद्योग दर्ता छन् । तीनवटा मात्रै क्रसर उद्योग नवीकरण गरिएका छन् । डुडुवाको जय नेपाल, बाबा स्टोन नरैनापुर र शिवशंकर कोहलपुर नवीकरण भएका छन् । बाँके राष्ट्रिय निकुञ्जभित्र पर्ने झिझरी खोलामा रहेको दीपक क्रसर उद्योग नवीकरणको प्रक्रियामा रहेको बताए ।
उक्त क्रसर उद्योग लामो समयदेखि निकुञ्ज क्षेत्रमा सञ्चालन गरिए पनि कुनै रोकटोक छैन। निकुञ्जभित्र सर्वसाधारणको प्रवेशमा प्रतिबन्ध लगाइएको छ ।
घरेलु तथा साना उद्योग कार्यालय बाँकेका अधिकृत उजिरप्रसाद न्यौपानेका अनुसार यहाँ सञ्चालनमा रहेका धेरैजसो क्रसर र बालुवा प्रशोधन उद्योग मापदण्डविपरीत छन् । उनले जंगल र राष्ट्रिय निकुञ्जको क्षेत्रभन्दा एक किलोमिटर टाढाको दूरीमा क्रसर उद्योग सञ्चालन गर्न पाइने बताए । नदी र खोलाबाट ५ सय मिटरको दूरीमा मात्रै क्रसर र बालुवा प्रशोधन उद्योग खोल्न पाइन्छ । ‘सबै मापदण्डविपरित सञ्चालनमा छन् । हामीले भनेको कसैले टेर्दैनन्,’ उनले भने । मापदण्डअनुसार बालुवा प्रशोधन उद्योगले गिट्टी र ढुंगाको काम गर्न पाउँदैनन् । तर, राप्ती सोनारीका प्रशोधन उद्योगले भने ढुंगा र गिट्टीको काम गरिरहेका छन् ।
ठेक्का नपरेपछि राप्ती नदी, मुगुवा, खैरी र झिझरीलगायतका खोलाबाट रातारात नदीजन्य पदार्थ चोरी गरी निर्बाध रूपमा क्रसर उद्योग सञ्चालन भएका हुन् । स्थानीयका अनुसार एक दर्जनभन्दा बढी क्रसर र बालुवा प्रसोधन उद्योग सञ्चालनमा छन् ।
पालिकाले दुईपटक नदीजन्य पदार्थ उत्खननका लागि ठेक्का खोलेको थियो । एक जनाले पनि टेन्डर हालेनन् । ‘हामीले दुईपल्ट ठेक्का खोल्दा कोही पनि आएनन् । तर, क्रसर र बालुवा उद्योग मजाले चलेका छन्,’ राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले भने, ‘हाम्रा नदी र खोलाबाट चोरी नगरेको हो भने कसरी क्रसर उद्योग चलेका छन् ? क्रसर क्षेत्रमा कहाँबाट ढुंगाको पहाड बन्यो ?’
यसअघि पालिकाले नदीजन्य पदार्थ उत्खननका लागि १६ करोडमा ठेक्का दिएको थियो । ठेक्का नलागेपछि पालिकाले केही दिनका लागि राजस्व लिएर ढुंगा, गिट्टी बोक्न दिएको थियो । लकडाउन सुरु भएपछि नदी, खोलाबाट ढुंगा झिक्न बन्द गरिएको छ । गाउँपालिका अध्यक्ष थारुका अनुसार क्रसर सञ्चालकहरूले सल्लाह गरेर कसैले पनि टेन्डर नहालेका हुन् । ‘नदीजन्य पदार्थ चोरेरै क्रसर चलेको छ भने किन टेन्डर हाल्नु प¥यो ? जरिवाना तिर्न तयार हुन्छन् । तर, टेन्डर हाल्न आउँदैनन्,’ उनले भने । चोरी बढेपछि गाउँपालिकाको करोडौंको राजस्व गुमेको छ । डुडुवाको सीमामा पर्ने राप्ती नदी र डुडुवा खोलामा पनि उत्तिकै दोहन भइरहेको छ ।
स्थानीयका अनुसार नदी र खोलाबाट दिनदहाडै एस्काभेटर प्रयोग गरी गिट्टी झिक्ने गरिएको छ । टिपर रातदिन कुद्ने गरेका छन् । कतिपय क्रसर उद्योग आयोजनाका नाममा सञ्चालित छन् । हुलाकी राजमार्ग, सहरी विकास आयोजनाका लागि पनि क्रसर उद्योग सञ्चालनमा छन् । विकासका आयोजनाले एउटा क्रसर सञ्चालन गर्न पाउने कानुनी व्यवस्था छ । तर, सञ्चालनमा आएका अधिकांश क्रसर उद्योगहरू बिनाआयोजनाका छन् ।
नेपालगन्जबाट सिधनीय पुल हुँदै राप्ती सोनारी गाउँपालिकाको फत्तेपुर गाउँतिर मोडियो भने राप्ती नदी र आसपासका खोलाको चरम दोहन गरी क्रसर उद्योग चलिरहेको देख्न सकिन्छ । त्यसअघि डुडुवा गाउँपालिकाको सीमाको बस्तीमा अर्को क्रसर उद्योग सञ्चालित छ । त्यस्ता क्रसर उद्योग चलिरहेका स्थानमा बालुवा, ढुंगा र गिट्टीको पहाड लागेको छ । तीन चरणको विद्युत् लाइनबाट २४ सै घण्टा क्रसर उद्योग सञ्चालन भइरहेका छन् । तर, अनौठो के भने पालिकाले नदीजन्य पदार्थ उत्खननका लागि ठेक्का खोल्दा एक जनाको पनि टेन्डर पर्न सकेको छैन् ।
बालुवा प्रशोधन गर्ने उद्योगले दुंगा, गिट्टी र सडक कालोपत्रे गर्दा प्रयोग हुने बेस उत्पादन गरिरहेका छन् । तर, क्रसर उद्योगका सञ्चालकहरूले भने गत वर्षकै नदीजन्य पदार्थ स्टक रहेकाले त्यसैले काम चलाइरहेको दाबी गर्छन् । डुडुवा गाउँपालिकास्थित जय नेपाल क्रसर उद्योग र फत्तेपुरस्थित राप्ती गणेश बालुवा उद्योगका सञ्चालक हसिम खाँले गत वर्ष रहेको स्टक र डुडुवा खोलाबाट बालुवा ल्याएर प्रशोधन गरिरहेको दाबी गरे । उक्त क्रसर बस्ती र मदरसादेखि नजिकै छ । ‘लकडाउनअघि गाउँपालिकाले खोलेको बेला राजस्व तिरेर ढुंगा बोकेर ल्याएका हौं । गत वर्षको पनि थियो,’ उनले भने, ‘उद्योग चलाउन चोरेर साध्य हुन्न।’
राप्ती सोनारी गाउँपालिकाकी उपाध्यक्ष धनीकुमारी खत्री ढुंगा, गिट्टी चोरी हुन नदिन आफैं रातदिन राप्ती नदी र आसपासका खोला पुग्छिन् । प्रहरी प्रशासनसँग गुहार माग्छिन् । ‘चोर र बेइमानहरूसँग नसकिँदो रहेछ । नदीजन्य पदार्थको कारोबार गर्नेहरू निकै पहुँचवाला हुने रैछन् । माथिसम्म पावर हुन्छ उनीहरूको,’ उनले भनिन्, ‘सबै मिलेपछि पालिका एक्लैले केही गर्न सक्दैन ।’ नदीजन्य पदार्थ चोरी नियन्त्रण गर्न खोज्दा ज्यान मार्ने धम्कीसम्म खेप्नु परेको उनले बताइन् ।
उनका अनुसार चोरी नियन्त्रण गर्न प्रहरी र प्रशासनले समेत सहयोग गरेको छैन । क्रसर उद्योगीहरूले नदीजन्य पदार्थ नचोरेको दाबी गरिरहँदा उपाध्यक्ष खत्रीले सोमबार बिहानै झिझरी खोलामा एस्काभेटर प्रयोग गरेर धमाधम नदीजन्य पदार्थ झिकिरहेको आफैंले देखेको सुनाइन् ।