बर्दियामा कोरोना भाइरसबाट सङ्क्रमण हुनेको सङ्ख्या ७५

लुम्बिनी पत्र ।  बर्दियामा कोरोना भाइरसबाट सङ्क्रमण हुनेको सङ्ख्या ७५ पुगेको छ । स्वास्थ्य कार्यालय बर्दियाले दिएको जानकारी अनुसार  पछिल्लोपटक थप १५ जनामा कोरोना पुष्टि भएको हो ।
बढैयातालको वडा नम्बर  २ , १  र  ७ मा  ९ जना , गुलरियाको २ ,८,४,५ मा  ४  जना र मधुवनको  ६ र ४ मा २ जना गरी १५ जनामा थप सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले जानकारी दिए । थप १५ संक्रमित मध्ये २ जना महिला छन्।
गुलरियाका संक्रमित मध्ये २ जना क्वारेन्टाइनमा र  २  जना प्रहरी प्रशासनको  निगरानीमा छन् ।  मधुवनमा देखिएको  १ जना क्वारेन्टाइनमा अर्को महिलाको भेरी अस्पतालमा नमूना संकलन भएको थियो।  बढैया तालका ९ मध्ये ३ जना प्रहरी प्रशासनको निगरानीमा र    ६ जना क्वारेन्टाइनमा रहेका छन् । सङ्क्रमितलाई जिल्ला समन्वय समिति  र बढैयातालको आइसोलेसनकक्षमा लैजाने तयारी भइरहेको छ।
बर्दियामा हालसम्म ७५ जना संक्रमित मध्ये ७ जना निको भै डिस्चार्ज भएका छन्। ५४ जनाको आइसोलेसनमा उपचार भै रहेको छ।                                     बर्दियाको गुलरिया नगरपालिका का हालसम्म  २२  जनामा कोरोना संक्रमण भएकोमा ४ जना डिस्चार्ज भएका छन् । बाँसगढीका १६ जना संक्रमित मध्ये १ जना डिस्चार्ज भएका छन् । राजापुर नगरपालिका का ९ संक्रमित मध्ये १ जना निको भएका छन् ।    बढैयातालमा १२ जना संक्रमित मध्ये १ जना डिस्चार्ज भएका छन्।
हालसम्म मधुवनका १२ जना, ठाकुरबाबाका ३ जना  र बार बर्दियाकाका २ जनामा कोभिड १९ संक्रमण देखिएको  स्वास्थ्य कार्यालय बर्दियाका सूचना अधिकारी कृष्ण गोपाल चौधरीले बताए ।
बर्दियामा जेठ २९गते बेलुकासम्म १९०२ जनाको स्वाव संकलन भएको छ  ।  ६७९२ जनाको आर डी टी गरिएकोमा ११४ जनाको पोजिटिभ देखिएको छ।
बर्दियामा पी सी आर जाँचका लागि भी टी एम किटको अभाव भएपछि केही पालिकाहरुले आफै भी टी एम किट खरिद गर्न सुरु गरेका छन् ।