बर्दियाको सुरजपुर र फुटाहामा कोरोना हेल्प डेस्क राखियो

लुम्बिनी पत्र । जिल्ला प्रशासन कार्यालय बर्दियाको संयोजनमा जिल्लाको २ स्थानमा कोरोना भाइरस भित्रिन नदिन हेल्प डेस्क स्थापना गरिएको छ। भारतबाट आवागमन बढी हुने  स्थानको पहिचान गरी हेल्प डेस्क स्थापना गरिएको हो।
बढैयाताल गाउँपालिका २ स्थित फुटाहा र गुलरिया नगरपालिका वार्ड न ८ सुरजपुरमा   स्वास्थ्यकर्मीसहितको हेल्प डेस्क स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए।
गुलरियाको  सुरजपुरमा स्थापना गरेको हेल्पडेस्कको बर्दियाका प्रजिअ प्रेमलाल लामिछानेले उद्घाटन गरे। कार्यक्रममा उनले धेरै जमघट हुने गरी कुनै कार्यक्रम नगर्नसमेत निर्देशन दिए।
कार्यक्रममा जिल्ला प्रहरी प्रमुख राजेश नाथ बास्तोला, सशस्त्र प्रहरी उपरीक्षक यादव विश्वकर्मा,  प्रशासकीय अधिकृत बालकृष्ण अधिकारी र गणेश विक्रम शाह, गुलरिया नगरपालिका स्वास्थ्य शाखा प्रमुख  सुनिल पाण्डे ,  वडा अध्यक्ष धर्मेन्द्र बानियाँ, सामुदायीक सेवा केन्द्रका सहसचिव लुम्बिनी पत्र दैनिकका प्रकाशक यम घिमिरे लगायतको उपस्थिति  थियो।