नेकपा (विप्लव समूह) का ६ जना पक्राउ

लुम्बिनी पत्र । जिल्ला प्रहरी कार्यालय कैलालीले नेकपा (विप्लव समूह) का ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विप्लब समुहका कैलाली जिल्ला जनसरकार प्रमुख दल बहादुर विक सहित अन्य पाँचजना रहेकाछन् । विभिन्न मितिमा कैलालीका विभिन्न क्षेत्रमा अपराधिक कृयाकलाप, राज्यद्रोह,कर्तब्यज्यान, हातहतियार तथा खरखजना, बिष्फोटक पदार्थ तथा संगठित अपराधमा संलग्न रही फरार रहेको भन्दै प्रहरीले खोजी कार्य अघि बढाएको थियो । कैलालीमै रहेको भन्ने विशेष सूचनाको आधारमा विकलाई प्रहरीले खोज्ने क्रममा प्रहरी गस्ती टोलीले शनिबार साँझ धनगढी उपमहानगरपालिका–१२ जुगेडाबाट पक्राउ गरको हो ।

विकले प्रहरीमाथी अभद्र व्यवहार गर्नुका साथै आफूसँग रहेका अरुलाई भगाउन खोजेपछि प्रहरीले विक सहित अरु पाँच जनालाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्त्ता प्रहरी निरीक्षक हिक्मत बहादुर थापाले छ जना विप्लवका कार्यकर्तालाई पक्राउ गरेको बताउनुभयो ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका ९ बस्ने ४८ बर्षिय बि.क संगै वडा नम्बर ३ का लक्की शाह, वडा नम्बर २ ठेगाना भएका जिल्ला कमिटी सदस्य समेत रहेका ४० बर्षिय डम्बर सुनार, वडा नम्बर ७ ठेगाना भएका अखिल क्रान्तीकारी कैलाली जिल्ला अध्यक्ष २५ बर्षीय सुवास जोशी रहेकाछन् ।

त्यसैगरी त्रिबेणी ८ बाजुरा ठेगाना भएका धनगढी उपमहानगरपालिकाका ईन्चार्ज ३० बर्षीय प्रकाश रावल, खप्तड छान्ना गाउँपालिका ५ बझाङ ठेगाना भएका पूर्व क्रान्तीकारीका कैलाली जिल्ला अध्यक्ष एवम् जिल्ला कमिटी सदस्य ३० बर्षीय बवर जंग सिंह रहेको जनाइएकोछ ।