डा. कविता सिन्हा पाण्डेको कमाण्डमा कोरोना संक्रमित गर्भवती महिलाको सफल शल्यक्रिया         

लुम्बिनी पत्र । नेपालगन्ज मेडिकल शिक्षण अस्पताल कोहलपुरमा दोश्रो पटक कोरोना संक्रमित गर्भवती महिलाको सफल शल्यक्रिया गरिएको छ । मेडिकल कलेजका डा. कविता सिन्हा पाण्डेको कमाण्डमा गरिएको शल्यक्रियाबाट बच्चा जन्माइएको हो ।  उनको टिममा डा. राजेश केसी,डा. अमरेन्द्र कुशुवाहा तथा नर्सिङ्ग स्टापहरु संगीता गिरी,पवित्रा विष्ट, सरस्वती श्रेष्ठ लगायत रहेका थिए । रुपन्देही भैरहवा स्थित भीम अस्पतालबाट रिफर गरि आएकी कपिलवस्तु कृष्णनगर नगरपालिका की २७ वर्षीया महिलाको शल्यक्रियामार्फत् प्रसूति गराइएको हो ।
शुक्रबार राति भर्ना गरिएकी ती महिलाको शनिबार बिहान ५.२५ बजे २.४ केजी तौलको बच्चाको जन्म भएको कलेजले जनाएको छ । नवजात शिशु र आमा स्वस्थ रहेको पनि कलेजले जनाएको छ ।  यस अस्पतालमा पनी यस अघि गर्भवती महिलाको आन्दामा समस्या आएपश्चात सफल सल्यक्रिया गरिएको थियो । शल्यक्रिया पश्चात सम्वन्धी विभागलाई पूर्ण रुपमा सरसफाई तथा निर्मलीकरण गरी आवश्यकता व्यवस्था मिलाई अस्पतालको सेवा सुचारु भएको डा. नितेष कनौडीयाले बताए ।
नेपालगन्ज मेडिकल कलेजमा कोरोना पोजिटिभ गर्भवती महिलाको शल्यक्रियाद्वारा सुरक्षित रुपमा नवजात शिशु बाहिर निकाल्ने डा कविता सिन्हा र सम्पुर्ण टिमप्रती बाँकेका प्रजिअ राम बहादुर कुरुम्बाङले हार्दिक आभार व्यक्त गरेका छन्।  सरकारले कोहलपुर स्थित नेपालगञ्ज मेडिकल शिक्षण अस्पताल कोहलपुरलाई प्रदेश नं. ५ को कोरोना संक्रमितहरुको उपचारको लागि तेस्रो लेवल उपचार गर्ने अस्पतालको रुपमा निर्णय गरेको थियो ।