गुडिरहेको मोटरसाइकलमा बाघले झम्टिदा एक महिलाको ज्यान गयो

लुम्बिनी पत्र ।  गुडिरहेको मोटरसाइकलमा बर्दिया राष्ट्रिय निकुञ्जको बाघले झम्टिदा बाघको आक्रमणमा परी कैलालीको लम्किचुहा नगरपालिका वडा नं. ४ कौवापुरकी ५० वर्षीया नन्दकली थापाको ज्यान गएको छ ।               पुष १७ गते शुक्रबार राति दश बजेतिर  छोरा सन्तोष थापाले चलाएको सु.प.प १००८ प. ६८०१ नम्बरको मोटरसाइकलको पछाडि सवार आमा नन्दकली थापालाई  पूर्वपश्चिम राजमार्ग अन्तर्गत निकुञ्ज भित्रपर्ने नेपाली सेनाको अम्रेनी चेकपोष्ट भन्दा करिब ५/६ किलोमिटर पश्चिममा बाघले आक्रमण गरेको थियो ।
छोरा सन्तोषले मोटरसाइकल अलि स्लो भएको समयमा बाघले आमालाई झम्टिएर मोटरसाइकलबाटै लगेको प्रहरी समक्ष बताएका छन्।
बाघको आक्रमणबाट मोटरसाइकल ढलेको र पछि आफूले निकुञ्जका सुरक्षाकर्मीलाई खबर गरेको सन्तोषले प्रहरीलाई भनेका छन्।  बाघले मोटरसाइकलमा झम्टिएर मानिस बेपत्ता पारेपछि निकुञ्जको टोली र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना हात्तीबाट खोजीमा निस्केको भए पनि फेला पार्न सकेको थिएन।
शनिबार बिहानैदेखि थापाको खोजीका लागि नेपाली सेनाको टोली, नेपाल प्रहरीको टोली र निकुञ्जको टोली खोजीमा खटिएपछि थापाको शव बाघले खाएको अवस्थामा फेला परेको डिएसपी खड्काले बताउनु भयो । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रवक्ता डिएसपी  खड्काले शनिबार मध्यान्ह १२ बजेतिर थापाको शव घटनास्थलनजिकै फेला परेको  बताउनु भयो ।
‘घटनास्थलभन्दा तीन सय मिटर दक्षिण पश्चिमा उहाँको शव फेला परेको छ,’ डिएसपी खड्काले भन्नु भयो, ‘बाघले अनुहार र दुबै पिडौला खाएको छ। देब्रे खुट्टा शरीरदेखि अलग गरेको अवस्थामा शव फेला परेको छ।’